घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिए

चितवन | असार १३, २०७९

घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिए


चितवन :      चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।

 

 नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो । 

 

राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकीन तथ्याङ्क त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा सङ्कलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताउनुहुन्छ । 

 

गतवर्ष प्रकृतिमा सङ्कलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ ।

 

प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् । 
  

राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।

 

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । 

 

अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।”

 

नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्